चितवनमा प्रचण्ड र केपी ओली भिड्ने !

शुक्रबार, १२ कार्तिक २०७८

चितवन – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भिड्ने भएका छन् ।

आगामी कार्तिक १५ गते ओली र प्रचण्ड चितवनमा दुईतीर भिड्ने भएका हुन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र भएका घरदैलो गर्दै जनताको समस्या सुनिरहेका छन् ।

एमाले अध्यक्ष ओली पनि सोही दिन एमाले भरतपुर महानगर कमिटिको अधिवेशन उद्घाटन गर्न र केन्द्रीय महाधिवेशन स्थल अवलोकन गर्न चितवन आउँदैछन् ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक १५ गते ओली चितवन आउन लागेका हुन् । भरतपुर हाकिमचोकमा रहेको सिएमटी रिसोर्टमा महानगरको अधिवेशन १५ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

‘अध्यक्ष ओली पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहा पनि पुग्ने कार्यक्रम छ’, रावलले भनिन्, ‘माडी अयोध्याधाम पनि जाने सम्भावना छ।’

एमालेको यही मंसिर १०–१२ गते चितवनमा केन्द्रीय महाधिवेशन हुँदैन । महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख जनता उतार्ने एमालेको तयारी छ । बन्दसत्रमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

एमाले चितवन क्षेत्र नम्बर ३ का अध्यक्ष श्याम विष्टले अध्यक्ष ओलीले माडीको अयोध्याधाम पनि भ्रमण गर्नेछन् ।

प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । उनी आगामी निर्वाचनमा पनि चितवनबाट लड्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रचण्डलाई हराउन न्वारनको बल लगाएर एमाले अध्यक्ष ओली पनि मैदान उत्रिएका छन् । बुटवलमा गर्ने भनिएको एमालेका १०औँ महाधिवेशन चितवन सारेर ओलीले यसको संकेत गरिसकेका छन् ।