सभामुख सापकोटाका छोरालाई मन्त्री सरहको सुविधा दिएर चीन पठाइदै

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौँ – सरकारले सभामुख अग्नी सापकोटाका छोरा रुपक सापकोटालाई चिनका लागी नेपाली राजदूत बनाउँने भएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजदूत बनाएका सबैलाई सरकारले एकमुष्ठ फिर्ता बोलाए पछि अहिले धमाधम सरकारले राजदूत नियुक्ती गर्न लागेको छ । चीनका लागि नेपाली राजदूतमा सापकोटालाई बनाइने करिब पक्का जस्तै भएको छ ।

भारत, अमेरिका र बेलायतका लागी सरकारले राजदुत सिफारिस गरिसकेको छ , चिनका लागी नेपाली राजदुत माओवादी केन्द्रको कोटामा परेको र अग्नीका छोरा रुपक राजदुत बन्न लागको बताइन्छ ।

सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो

अब प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । चीनको लागि नेपाली राजदूतमा सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सापकोटा युवा कुटनीतिज्ञ हुन् । सरकारले सिफारिस गरेमा दावाफुटी शेर्पापछि उनी सम्भवतः सबैभन्दा युवा राजदूत हुनेछन् । सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

उनी चीन मामिला विज्ञका रुपमा समेत नेपालमा स्थापित हुन खोजिरहेका छन् ।

रुपकलाई राजदूत बनाउनेबारे प्रचण्ड सकारात्मक रहे पनि सत्ता गठबन्धनमा विशेष गरी प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनजस्तो विशाल छिमेकी देशमा परिपक्व राजदूत पठाउनुपर्ने आशय व्यक्त गरेको स्रोतले जनाएको छ ।