प्रेरक प्रसंग : तपाईँको कल्पना शक्ति कति हो ?
काठमाडौँ – कल्पना शक्ति साधारण शक्ति होइन । कल्पना–शक्ति को बलले ठूला ठूला आविष्कार गर्न सकिएको छ । कल्पनाको शक्ति पत्तो लाग्न सके जीवनमा क्रान्ति नै ल्याउन सकिन्छ । जीवनको धारा नै बदल्न सकिन्छ ।
यदि तपाइँ हर क्षण, हर दिन, उठदा–बस्दा आफ्नो लक्ष्यको मात्र चिन्तन गर्नुहुन्छ, त्यसैको लागि लागिपरिरहनुहुन्छ, त्यसैको कल्पनामा रमाउनुहुन्छ भने लक्ष्य प्राप्ति असम्भव छैन । जहा आज हामी लहलहाउँदो बालिले भरिएको मैदान देख्छौं, जहाँ फूलको सुन्दर बगैंचा देखिरहेका छौं, त्यहाँ कुनै समय उजाड पहाड थियो, सुख्खा पहाड थियो, त्यहाँ कुनै बालिनालि हुदैनथ्यो ।
यो कसरी हुन सक्यो होला ? यो कुनै महत्त्वकांक्षीको परिश्रमको बलको साकार रूप हो । कल्पना शक्तिले अगाडि बढ्ने तथा सफलता प्राप्तिको लागि दृढ संकल्पित व्यक्तिहरूले नै यस्ता सुख्खा पहाडलाई हराभर मैदानमा परिणत गर्न सक्दछन् । उनीहरू नै पहाडमा बगैंचा बनाउन र मरूभूमिमा नहर बगाउन सक्दछन् । प्रत्येक मनुष्यको भित्र शक्तिको असिम भण्डार छ ।
हरेक व्यक्तिमा कुनै न कुनै शक्ति, कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ । मानिस एउटा अपार खानी आफ्नो गर्भमा लिएको कुनै भूखण्ड समानको अद्भूत प्राणी हो । आफ्नो शक्तिको पहिचान गर्नुस्, आफूलाई चिन्नुहोस् र पूरा लगन, शक्ति एवं विश्वासको साथ आफ्नो गन्तव्यतिर अगाडि बढ्नुस् । आफ्नो शक्तिमा दृढ संकल्पित भएरै आफ्नो कल्पनाको उद्देश्यतफ अघि बढ्नेले मात्र आफ्नो गन्तव्य स्थानमा पुग्न सक्दछ ।
जो व्यक्ति मुर्ख र अल्छी छ, त्यो भाग्य र संयोगका कुरा गरेर समय बर्वाद गर्दछ । केही मानिस अर्काका ईर्ष्या त गर्दछन्, तर उसको भन्दा दोब्बर मेहनत गरर।
अगाडि बढ्ने प्रयास भने गर्दैनन् । अरू धनी भएको देखेर भाग्यका कुरा गर्दछन्, या त उनीहरूलाई भ्रष्ट वा दुई नम्बरी भनेर चूपचाप बस्दछन् । तर, सबै भ्रष्ट र दुई नम्बरी हुँदैनन् । उनीहरूको सफलताको पछाडि रहेको लगनशीलता, दृढ संकल्प र इच्छा शक्तिलाई यी मूर्खहरू चिन्न सक्दैनन् । सफलताको लागि यिनीहरू कुनै बलिदान गर्न चाँहदैनन् ।
किसान खेतमा बिऊ रोप्दछ । बिउ तब अंकुराउँछ जब त्यहाँ खनजोत, सिंचाई र हेरचाह उचित मात्रामा हुन्छ । केवल बिऊ रोप्नु मात्र पर्याप्त हुँदैन । इच्छाको उत्पत्ति हुनु त बिउ रोप्नु जत्तिकै मात्र हो । बाँकी काम सबै शेष छ । बिउ रोपिसकेपछि त्यहाँ प्रशस्त परिश्रमको खाँचो पर्दछ, जसरी सिंचाई, गोडाई, खनजोत र उचित हेरचाह विना किसानले खेतबाट बाली भित्र्याउन सक्दैन, त्यसैगरी इच्छा मात्रैले उद्देश्य प्राप्त हुँदैन, उत्तिकै प्रयासको पनि जरूरी पर्दछ ।
तपाइँले आफ्ना वरिपरि धेरै यस्ता असाधारण मानिस देख्नुभएको होला जो कुनै समय साधारण थिए । हिजोको फूटपाथे आजको उद्योगपति हुन सक्दछ, हिजोको नाङले पसले आज शहरको ठूलो व्यापारी हुनसक्दछ । कयौं कल कारखानाका मालिक हिजो साधारण कर्मचारी थिए होलान् । उनीहरूले वास्तवमा मेहनत गरेका हुन्, दिन–रात खटेका हुन् ।
उनीहरूमा दृढ इच्छा शक्ति, आत्मविश्वास र लगनशिलता थियो । निराशावादी अगाडि बढ्न सक्दैन । निराशाको त्याग गर्नैपर्दछ । परिश्रमद्वारा कोही पनि व्यक्ति कुनै पनि इच्छाको पूर्णता प्राप्त गर्न सक्दछ । कोही पनि व्यक्ति लेखक, चिकित्सक, इन्जिनियर वा कलाकार जे बन्न चाहे पनि आफ्नो दृढ इच्छाशक्तिमा विश्वास गरेर त्यसको लागि निरन्तर प्रयास गरेमा अवश्य नै गन्तव्य प्राप्त गरेरै छाड्दछ ।
हाम्रो जीवनको भव्य महल हानै मनभित्र छ, हानै कल्पनामा छ, यो हाम्रो भावी जीवनको नक्शा हो । हाम्रा वास्तविक शक्ति र सफलताहरू आउन बाँकी नै छन् । हाम्रा जे जति कल्पनाहरू छन्, तिनीहरू हाम्रा मनमा मात्र छन् अहिलेसम्म, तिनीहरूलाई वास्तविक जीवनमा पाउन सकिन्छ, अवश्य नै ।
जुन वस्तु वा व्यक्तिलाई हाम्रो मनले चाहना गर्दछ, त्यतैतिर हाम्रो सम्पूर्ण शक्ति तानिएर जान्छ । तिनीहरूप्रतिको आकर्षण नै हामीलाई त्यतातिर तानेर लैजान सफल हुन्छ । यो एक ठूलो मनोवैज्ञानिक
तथ्य हो ।