ओलीका मुख्यमन्त्रीले ३ बर्षमा गर्न नसकेको काम माधवका मुख्यमन्त्रीले ३ दिनमै गरिदिए !

शनिबार, २० कार्तिक २०७८

काठमाडौँ – नेकपा एमालेका मुख्यमन्त्रीहरुले ३ बर्षमा गर्न नसकेको काम नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्रीले तीन दिनमै गर्ने संकेत गरेका छन् ।

माधव नेपालको नेकपा (एस)बाट मुख्यमन्त्री बनेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनमै प्रदेशको नामाकरण गर्ने बताएका छन् । उनले प्रदेशको नाम जुराउन चाँडै संसद गरेर निश्कर्षमा पुग्ने बताएका हुन् ।

गृहजिल्ला भोजपुर जाने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको पहिचान र बहुपहिचानका आधारमा सहमतिबाट जुराउने बताएका हुन्।

प्रदेशको नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत, लिम्बुवान र सगरमाथा आदि नामबारे चर्चा चलेको छ।

प्रदेशको नाम कोशी, किराँत वा सगरमाथासँग जोडेर राखिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।

प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक वा दलका प्रमुखसँग छलफल गरिने उनले बताए। पूर्ववर्ती सरकारले संसदमा प्रयास नगरेकाले प्रदेशको नाम अहिलेसम्म राख्न नसकेको उनले बताए। नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।

यता नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न टोली गठन गरेको छ। स्रोतका अनुसार माधव नेपाल नेतृत्वको सो पार्टीले मुख्य निशाना नेकपा एमालेलाई बनाएको र एमालेका प्रभावशाली नेताहरुलाई तान्ने उसको रणनीति रहेको बुझिएको छ ।

बुधबार बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसाल नेतृत्वमा वार्ता टोली गठन गरेको हो। महासचिव भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेका छन्।

उक्त वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्नेछ। यता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्।