डिभी परेर अमेरिका जान लागेका युवाको छुरा प्रहार गरी हत्या

बुधबार, २४ कार्तिक २०७८

काठमाडौँ – डिभी परेर अमेरिका जाने तयारी गरिरहेका कैलाली २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको छ । लम्कीचुहा नगरपालिका १ का बडुवाल अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए।

काठमाडौंमा बहिनीसँग बसिरहेका बडुवाल दसैंमा घर गएका थिए। उनी काठमाडौंमा ब्याचलर्स पढिरहेका थिए।

उनकी छिमेकी तथा लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाका अनुसार दसैंमा घर आएपछि अमेरिका जाने तयारी थालेका बडुवाल काठमाडौं फर्केका थिएनन्।

उनकी बहिनी भने दसैं मनाएर काठमाडौं गइसकेकी थिइन्। परिवारमा उनीहरू दुई छोराछोरी मात्रै हुन्।

मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए। ‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए,’ थापाले भनिन्।

लम्कीचुहा १ कै श्रेष्ठ बडुवालका नजिकका साथी थिए। उनी पनि काठमाडौं नै बस्थे। श्रेष्ठ मंगलबारमात्रै कैलाली पुगेका थिए।

‘लगेर केहीबेरमै मारिहाल्नुपर्ने त्यस्तो ठूलो कही दुश्मनी थियो भन्ने मलाई लाग्दैन,’ थापाले भनिन्।

बडुवाल इमान्दार स्वभावका थिए। घर गइकन बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए।

लम्कीचुहामा डम्बरको जुत्ता(चप्पल र इनामेलको पसल छ।

‘उनीहरू साधारण परिवारका थिए, बुवाआमा यता व्यापार गर्थे, छोराछोरी काठमाडौं पढ्थे,’ थापाले भनिन्।

बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पुर्‍याएका थिए। त्यहाँबाट लखेट्दै-लखेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरेको पाइएको थापाले बताइन्।

‘परिवार विक्षिप्त अवस्थामा छ, उनीहरूसँग केही कुराकानी गर्ने परिस्थिति छैन,’ उनले भनिन्।

बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

अधिकारीका अनुसार शंकास्पदहरू प्रहरीको निगरानीमा छन्। कपिल पनि प्रहरीको निगरानीमा छन्।

शंकास्पद आठ जनालाई पक्राउ गरिसकिएको अधिकारीले बताए। ‘उनीहरू कोही टीकापुर, कोही लम्कीमा छन्, एकठाउँमा ल्याएर घटनामा संलग्नता पुष्ट्याइँ गर्ने काम भइरहेको छ,’ अधिकारीले भने, ‘अनुसन्धानको क्रममा रहेकाले नाम उल्लेख गर्न मिलेन।’

हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ। घटनास्थल नजिकै पेट्रोल पम्पको छेउमा खुकुरी फेला परेको अधिकारीले बताए।

हत्याको बिरोधमा लम्कीका स्थानीयले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पार्दै प्रदर्शन गरिरहेका छन्। प्रहरीले राजमार्ग खुलाउन प्रयास भइरहेको छ।