प्रेरक प्रसंग : असल बानी बसाल्नु भनेको पानीको धार विरूद्ध बग्नु हो
काठमाडौँ – कुनैपनि व्यक्तिको बानीबाट नै योग्यता र सरलता विकसित हुन्छ । दूरदर्शीताको बानी परेको छ भने तपाइँ कतिपय त्यस्ता कार्य गर्नुहुन्न जसको परिणाम अगाडि गएर गलत निक्लन्छ ।
त्यस्तै तपाइँ अपराधबाट बच्न सक्नुहुन्छ र सही निर्णय लिन सक्नुहुन्छ । माथि चढ्न जति गाहो हुन्छ, तल झर्न त्यति नै सजिलो हुन्छ । नदीमा पानीको धारको उल्टो तैरिन जति शक्ति लाग्दछ, त्यतिकै सजिलो पानीको धारसँग बग्नमा हुन्छ ।
असल बानी बसाल्नु भनेको पानीको धार विरूद्ध बग्नु हो । खराब बानी त यसै पनि बस्न सक्छ । यो त धारकोसँगै बग्नु जस्तै हो । कुसंगतबाट प्रभावित हुन, नशाको लत र कुकर्मको बानी बसाउनु धेरै सजिलो छ ।
जस्तो संगतमा बस्नुभएको छ, त्यस्तै बाटो हिड्नुहुन्छ । धेरै सजिलोसँग त्यो बानी बस्दछ । यो भन्नुको मतलब के हो भने खराब व्यक्ति बन्न सजिलो छ, तर असल व्यक्ति बन्नको लागि असल बानीको विकास गर्नुपर्छ, जुन त्यति सजिलो छैन ।
यो असजिलो मार्ग सफलताको मार्ग हो, यसैलाई अपनाउनुपर्दछ । कुनै विरूवा बांगो भएर बढिरहेको छ भने तपाइँ त्यसलाई एकैचोटि सोझो बनाउन सक्नुहुन्न । तपाइँ त्यसलाई विस्तारै विस्तारै तानेर सिधा गर्नुहुन्छ भने केही समयपछि त्यो सिधा बन्छ ।
तपाइँ जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने सर्वदा असल बानी विकास गर्ने र त्यसप्रति दृढ रहने प्रयास गर्नुहोस् । असल बानी भन्नाले यसभित्र धेरै कुरा पर्दछन् ।
जस्तैः समयको ख्याल गर्नु, ठीक बेठीक छुट्याउनु, कुशल व्यावहारिक बन्नु, निष्कृय नरहनु, मौन नरहनु सबेरै उठ्नु आदि ।
तपाइँ आफ्नो समय कहिल्यै व्यर्थ खेर नफाल्नुस, कहिल्यै त्यतिकै नछोड्नुस् । जुन काम जुन समयमा गर्नपर्ने हो त्यो काम त्यही समयमा गर्नुस् । तपाईंले समयको पर्वाह नगरेकै कारणले तपाईंको जिन्दगीका महत्त्वपूर्ण मौकाहरू छुटिराखेका हुन सक्छन् ।
मौका छुटेपछि तपाइँ जिन्दगीभर पछुताइरहनुहुन्छ, किनकि त्यही मौका फेरि फर्केर आउँदैन । भनिन्छ पनि ‘मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन ।’ कुनै विद्वानले भनेका छन् कि तपाइँको घडिको सुइको साथ चल्नुपर्दछ । आफ्नो चौबिस घण्टाको उचित विभाजन गर्नुहोस् ता कि एक मिनेट पनि व्यर्थमा खेर नजाओस । किनकी त्यो समय दोस्रो पटक आउँदैन ।
बितेको समय फर्केर आउँदैन, यो कहिल्यै नबिर्सनुस् । अवसर र समय सबैभन्दा चिप्लो हुन्छ, अगाडि पर्ने बित्तिकै समातिहाल्नुपर्दछ । तपार्इको छेउबाट गइसक्यो भने पछाडिबाट समात्न सक्नुहुन्न । भनिन्छ समयको पछाडि कपाल हुँदैन, अगाडि मात्र हन्छ ।
आउँदा आउँदैको समयलाई समात्न सकिन्छ । तपाइँलाई नाघेर अघि बढिसकेको समय तपाइँले चाहेर पनि समात्न सक्नुहुन्न । किनकी समात्नको लागि पछाडि कपाल नै हुँदैन त्यसैले एक क्षण पनि व्यर्थ नगुमाउनुस् ।
तपाइँको प्रत्येक क्षण मूल्यवान छ । यस्तो अमूल्य रत्नलाई लुटाउनुभयो भने तपाइँको हात सधैं खाली नै रहन्छ । धनवान वा महान् बन्नको लागि सबैभन्दा प्रमुख बानी हो सधैं समयको ख्याल राख्नु ।