भीम रावलले उमेदवारी घोषणा गरेकै दिन केपी ओलीले भने, ‘म लड्न सक्दिन’
काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नसक्ने बताएका छन् । उनले चिकित्सकको सल्लाह अनुसार आफू नलड्ने बताएका हुन् ।
नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् ।
दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ ।’
उनले अगाडि भने, ‘ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिन ।’
खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए । यस्तै ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताएका छन् ।
आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताए ।
‘जो जतासुकै लागेका हुन् । राजनीतिक रुपमा जुनसुकै अर्गनाइजेसनमा लागेका हुन् खेलकुद महासंघले युवाहरुलाई संगठित परिचालित गर्नुपर्छ’ ओलीले भने ।
‘तिनलाई दक्ष बनाउनुपर्दछ र तिनलाई खेल अभियन्ताका रुपमा पर्सनल एम्बेस्डरका रुपमा अघि बढाउन ध्यान दिनुपर्छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।
ओली नेकपा एमालेको १०औं महशाधिवेशनमा पनि अध्यक्ष बन्ने लाइनमा छन् । उनलाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोक्न नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उमेदवारी घोषणा गरेका छन् ।
उनले उमेदवारी घोषणा गरेकी दिन ओलीले ब्याडमिन्टन प्रतियोगितामा आफू लड्न नसक्ने बताएका हुन् ।