प्यानल घोषणाको तयारीमा भीम रावल, को–को छन् उनको टिममा ?

शनिबार, ११ मंसिर २०७८

काठमान्डौ – नेकपा एमालेको महाधिवेशनमा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् भीम रावल । अध्यक्ष पदमा ओली वा अरु जोसुकै लडे पनि अब आफू ब्याक नहुने रावलको प्रतिवद्धता छ ।

चुनाबी मैदानमा होमिएका रावलले केपी ओलीले प्यानलको तयारी गरे आफूले पनि प्यानल तयार गर्ने बताएका छन् । ओलीले प्यानल नबनाउने र सहमतिको लागि पनि कर नगर्ने बताए पनि आन्तरिक रुपमा भने दुवै तयारी भएको बुझिएको छ।

रावलको टिममा बरिष्ठ उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्षमा घनश्याम भुसाल, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई लगायतको छन् । ओलीले टिम घोषणा गरे आफू पनि टिममै जाने गरी रावलको काउण्टर तयारी छ ।

आफ्नो उम्मेदवारी घोषणाको औचित्यबारे स्पस्ट गर्दै रावलले एमालेको अध्यक्ष जितेर पार्टी र देशलाई हाँक्ने दाबीसमेत गरे ।

कुनै पनि प्यानल नबनाई एक्लै उम्मेदवारी घोषणा गरेका रावलले पार्टीमा प्यानल नबनाउने नीति रहेकाले एक्लै उम्मेदवारी घोषणा गरेको बताए । तर, अध्यक्ष ओलीका तर्फबाट प्यानल घोषणा भयो भने आफूले पनि प्यानल बनाउने रावलले जानकारी दिए।

तर प्यानलमा कोको रहने कसरी बनाउने त्यो बारे भने अजै तयारी भै नसकेको उनको भनाई छ मैले शंकरजीसँग कुरा गरिनँ । तर, पार्टीका महासचिव, संगठन विभाग हेर्ने उपमहासचिव लगायत धेरै साथीहरूसँग कुरा गरेको छु । कुनै पनि साथीहरूले उम्मेदवार बन्नु हुन्न भन्नुभएको छैन ।

मैले यसअघिको स्थायी कमिटी बैठकमा उम्मेदवारी दिने प्रक्रिया के हो, कुरा गर्नुपर्यो भनेको थिएँ । मैले पार्टी अध्यक्षलाई भेटेर अध्यक्ष उठ्छु त भनेको थिइनँ तर के हो त प्रक्रिया रु अब त महाधिवेशन आइसक्यो भनेको थिएँ, आजभन्दा ८–१० दिनअघिको कुरा हो ।

यसमा उहाँले केही कुरा बोल्नुभएन । त्यसपछि मैले जनताको बहुदलीय जनवादले मार्गप्रशस्त गरेका प्रतिस्पर्धाको राजनीति, लोकतान्त्रिक विधिमा जान्छु भन्ने निर्णय लिएँ ।

नेकपा एमालेको नेतृत्व गरेर समग्र राष्ट्रिय राजनीतिलाई बामपन्थीका बीचमा सहकार्य गर्ने, राष्ट्रिय साझा विषयमा एक भएर जाने, हाम्रो परराष्ट्र नीति, हाम्रो राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तनका प्रकोपहरू, भ्रष्टाचारविरोधी कामहरू, कोरोना महामारीबाट उत्पन्न आर्थिक कठिनाइमा राष्ट्रको राजनीतिले दिशाबोध नै गरेन । त्यो दिशाबोध गराउन सक्छु भन्ने विश्वासको साथ अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

के भन्छन घनश्याम भुसाल ?

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले पुनरोदयका लागि अपिल गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा नेता भुसालले प्रतिनिधिहरूलाई अपिल गर्दै एमाले विभाजनको पीडा र गुटबन्दीको धुलो टक्टक्याउँदै फेरि उठ्छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।

उनले विचार तथा सिद्धान्तको आधारमा एकताबद्ध भएर फेरि उठ्ने भरोसा पार्टीका सदस्यहरूले गरेको पनि बताएका छन् ।

“नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढि एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाका साथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरूले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन्,” भुसालको वक्तव्यमा भनिएको छ ।

‘भुसालले आफूहरू उपलब्धि जोगाउन नसक्दा राजनीतिक घेराबन्दीमा परेको बताएका छन् । सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैले कम्युनिष्ट पार्टीको बहुमतको संसद विघटन गर्‍यौँ, एकिकृत पार्टी विभाजित गर्यौँ, संघीय र प्रादेशिक सरकारहरू भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौँ,’ अपिलमा भनिएको छ, ‘सबै राजनीतिक पार्टीहरू स्वार्थ केन्द्रित गुटबन्दीको भुवरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्यायव्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थीरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो ।’

उनले एमालेको पुनरोदयका लागि असङ्गति हटाउनै पर्ने बताएका छन् । १०औँ महाधिवेशनले कम्तीमा दलाल पुँजीवादुको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ ।

‘जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असङ्गति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्नै पर्नेछ,’ उनले भनेका छन् ।