यी हुने एमालेकी सबैभन्दा कान्छि केन्द्रीय सदस्य
चितवन – नेकपा एमालेकीमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन् । चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन् । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसकेकी उनी एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गरेकी थिइन् ।
त्यस्तै, नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए ।
रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका हुन् ।
६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भए ।
सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए ।
ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।
एमालेमा लागेका पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।
जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन ? भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए ।
तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।