कमल थापाले ‘जोसमा होस् गुमाएपछि’ राप्रपा महाधिवेशन प्रभावित
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । कमल थापाले आफू निकटका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएपछि कार्यतालिका प्रभावित भएको हो ।
थापाका कारण आज हुने भनिएको निर्वाचन प्रक्रिया विवादका कारण सुरु हुन सकेको छैन्।
मतदाताको विषयलाई लिएर अध्यक्षका दावेदार कमल थापा र अर्का दाबेदार राजेन्द्र लिङ्देन समूहबीच विवाद हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको हो।
सचिवालयले निर्वाचन समितिलाई उम्मेदवारको अन्तिम सूची बुझाउन सकेको छैन्। थापा पक्षले महाधिवेशन प्रतिनिधिमा आफ्ना मान्छेहरूको नाम मनलाग्दी रुपमा थपेको लिङ्देन पक्षको आरोप छ।
लिङ्देनले भने सचिवालयले अहिलेसम्म मतदाताको सूची निर्वाचन समितिलाई नबुझाएले प्रक्रिया सुरु नभएको बताए । उनले सचिवालयले प्रतिनिधिको सूची बुझाएपछि आफूहरुले त्यो सूची हेरेर निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन आग्रह गर्ने बताए।
नेता मोहन श्रेष्ठले भने उम्मेदवारको सूची तयार पार्दा दुई समूहबीच विवाद भएको दाबी गरे। लिङ्देन समूहका नेता धवल शम्शेर राणाले सहमतीमा नै उम्मेदवार दर्ता गर्ने तयारी भएको बताए।
अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री तथा एक सय ४१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्।
सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्ता र सहायक कोषाध्यक्ष पनि निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन् । यसैबीच आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र पनि यहि विवादको कारण प्रभावित भएको छ।
बन्द सत्रमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशमशेर राणाले प्रस्तुत गरेको सामाजिक कार्यपत्र र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्र माथि छलफल गर्ने तयारी छ।
महाधिवेशनको हिजो भृकुटीमण्डपमा पार्टीका तिनै अध्यक्षले उद्घाटन गरेका हुन्।