चन्द्र ढकालको अखडामा प्रहरीको छापा, ५ जना पक्राउ

शुक्रबार, १७ मंसिर २०७८

काठमाडौं – प्रहरीले व्यापारी चन्द्र ढकालको अखडामा छापा मारेको छ । हुन्डी कारबार भइरहेको सूचनाका आधारमा प्रहरीले ढकालको हुन्डी कारबार गर्ने अखडामा छापा हानेको हो ।

दरबारमार्गमा रहेको अखडाबाट प्रहरीले करिब ६० लाख रुपैयाँसहित पाँच जनाभन्दा धेरैलाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबारे विस्तृत विवरण बताउन चाहेको छैन । पक्राउ परेका व्यक्ति नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष ढकाल निकट रहेको प्रहरी श्रोतको भनाई छ ।

‘माथिबाट नाम नखुलाउनु भन्ने आदेश छ । तपाईँले यति सोधिहाल्नुभयो । ती व्यक्तिहरु ठूलै मान्छे नजिकका भएकाले नाम गोप्य राखिएको छ ।’ प्रहरीका एक अधिकृतले भने, ‘उनीहरुले ठूलै विजनेश गु्रपको पार्टनर भएको खुलाएका छन् ।’

यसअघि राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विकास मित्तल, कमल मित्तल, गणेश पौडेल र समुन्द्र पौडेल पनि ढकालकै व्यक्ति थिए ।

उनीहरु चारै जना आईएमईका मालिक समेत रहेका ढकालका विजनेश पार्टनर भएको विभागसँगको वयानमा भनेका थिए । उनीहरुलाई विभागले अमेरिकी डलरसहित पक्राउ गरेको थियो ।

काठमाडौंको गोल्डेन लिफ होटलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ, ९ सय अमेरिकी डलर र ६ सय चिनियाँ यूआनसहित पक्राउ परेका उनीहरुलाई उच्च अदालत पाटनमा विगो र जेल सजाया माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

अनुसन्धानका क्रममा बरामद भएको रकमको स्रोत वैध नदेखिएको र राजश्व छली गरेको दावीसहित विभागले मुद्दा दायर गरेको हो ।

विभागले प्रतिवादी विकास मित्तललाई ३ करोड ९२ लाख ९१ हजार ५३९, गणेश पौडेललाई एक करोड ९५ लाख ६१ हजार ७३५, समुन्द्र पौडेल र गणेश पौडेललाई थप एक करोड ९ लाख ७० हजार १५३ रुपैयाँ विगो दाबी गरिएको छ ।

अर्को प्रतिवादी कमल मित्तलको हकमा विभागले १४ लाख ४७ हजार ९५४ रुपैयाा विगो र हदैसम्मको कैद सजाय माग गरिएको छ ।