पूर्वराजा ज्ञानेन्द्र बढि जान्ने भएपछि राप्रपा लफडा
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हिसावमा फेरी सत्तामा फर्किने लालसा पालेकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा लफडा भएको छ ।
शाहसँग निकट रहेका निर्मल निवासका मानिसहरुले राप्रपालाई फुटाउने उद्देश्यले राजेन्द्र लिङ्देनलाई अगाडि सारेको भन्दै महाधिवेशन स्थल भृकुटीमण्डपमा दिनहुँ लफडा भइरहेको छ ।
कमल थापा निकट एक नेताले भने, ‘उमेरका कारणले हो कि किन हो, राजालाई गद्दीमा फर्कन हतार लागेजस्तो देखिन्छ ।’
‘तर, समय नआइकन कसैको हतारोले मात्रै राजसंस्था फर्कन सक्दैन, यसका लागि धैर्यतापूर्वक राजनीतिक शक्ति आर्जन गर्नुपर्छ । राप्रपा फुटाएर राजसंस्थाको एजेण्डा बलियो हुँदैन ।’
त्यसो त विगतमा पनि निर्मल निवासले राप्रपा फुटाउने भूमिका खेल्ने गरेकोमा असन्तुष्टि जनाउँदै राप्रपा नेता कमल थापाले त्यसो नगर्न निर्मल निवासलाई सचेत गराएका छन् ।
‘यदाकदा केही गाइँगुइँहरू सुनिएको छ । अब केही उम्मेवारहरूले राजा (पूर्वराजा ज्ञानेन्द्र) को तस्बिर र आफ्नो तस्बिर सँगै राखेर प्रचार गरेको पनि देखियो ।’ कमल थापाले एउटा अन्तरवार्तामा भनेका छन् ।
‘केही सञ्चार माध्यमहरूमा राजाको नाम मुछेर कुनै एक अमूक उम्मेदवारलाई समर्थन छ भन्ने प्रचार पनि गरियो । तर, यसलाई तत्कालै पूर्वराजाको सचिवालयले खण्डन गर्यो ।’ थापाले भनेका छन् ।
थापा अगाडि भनेका छन्, ‘मलाई पूरा विश्वास छ कि राजा वा राजाको सचिवालयको तर्फबाट पार्टीको आन्तरिक विवादमा वा प्रतिस्पर्धामा हस्तक्षेप हुन्छ भन्ने लाग्दैन । हामीले परिकल्पना गरेको राजा भनेको राप्रपाको मात्र होइन, अन्य राजनीतिक दल र सिंगो नेपालीहरूको साझा संस्थाको परिकल्पना गरेका हौं ।’
‘चुनावी राजनीति भन्दा माथि उठेको एउटा साझा र अभिभावकीय संस्थाको हामीले परिकल्पना गरेका हौं । त्यस्तो परिकल्पना गरिएको संस्थाबाट यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दख्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरु देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’ उनले भने ।