कुन्तिलाई रेखा थापाले काउण्टर जवाफ दिएपछि भृकुटीमण्डपको माहालै फेरियो
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा महामन्त्री पद लडिरहेकी अभिनेत्री रेखा थापाले महामन्त्री उम्मेदवार कुन्ती शाहीलाई मुखभरिको जवाफ फर्काएकी छन् ।
शाहीले फिल्म खेलेजस्तो सजिलो छैन भनेपछि थापाले काउन्टर जवाफ दिदै फिल्म खेल्ने अफर गरेकी छन्। शाही राप्रपा अध्यक्ष कमल थापा र रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लडिरहेका छन्।
शुक्रबार उम्मेदवारी दर्ता गर्दै शाहीले रेखालाई लक्षित गर्दै ‘राजनीतिक गर्न फिल्न खेल्नजस्तो सजिलो नभएको’ अभिव्यक्ति दिएकी थिइन्।
उनको अभिव्यक्ति मिडियामार्फत् बाहिर आएपछि रेखा समर्थितहरूले आलोचना गरिरहेका छन्।
रेखा आफैंले सो अभिव्यक्तिबारे शाहीलाई ‘काउन्टर’ दिँदै फिल्म खेल्ने ‘अफर’ गरेकी हुन्।
‘म वैशाखमा फिल्म बनाउँदैछु, आउनुस् फिल्म खेल्न, तपाईं हिरोइनमा त फिट हुनुहुन्न, आमाको रोल दिऊँला,’ शनिबार मतदानस्थलनजिक चुनाव प्रचारकै क्रममा भेटिएकी रेखाले भनिन्, ‘फिल्म खेल्न कति सजिलो हुन्छ, हुँदैन तपाईंलाई थाहा हुन्छ।’
हिरोइनका लागि ‘फिगर’ चाहिने भएकाले कुन्ती ‘आमा’को रोलमा फिट हुने रेखाको काउन्टर छ। थापाले कुन्तीलाई नेता ‘रिझाएर’ पदमा पुग्न निकै सजिलो हुने बताइन्।
‘मैले समाजका लागि, महिला सशक्तीकरणका लागि फिल्म नै बनाएर योगदान दिइसकेकी छु, मलाई कोही नेता रिझाएर पदमा पुग्नु छैन,’ थापाले भनिन् ।
राप्रपा महाधिवेशन मंसिर १५ देखि भृकुटीमण्डपमा जारी छ। शनिबार मतदान भइरहेको छ।
राप्रपा महाधिवेशनमा ४ हजार ३८० मतदाता छन्। तीन महामन्त्री पदमध्ये महिलातर्फ शाही र रेखा प्रतिस्पर्धामा छन्।
लामो समय राजनीति नगरे पनि आफूसँग राजनीतिक व्यक्तित्वको भन्दा कम योगदान नरहेको उनले बताइन्।