चुनाव जितेर पनि सभापति हुन पाएनन् बानियाँ

आइतबार, १९ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तरगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । कर्णाली, गण्डकी र बागमती प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

बागमती प्रदेशमा १३ औँ महाधिवेशनको अवस्था दोहोरिएको छ । चुनाव जितेपनि इन्द बानियाँ सभापति बन्न पाएनन् ।

उनलाई सभापति बन्न पुग्ने मत नआएपछि सभापति बन्नबाट बन्चीत भएका हुन् । अब सभापतिमा फेरी निर्वाचन हुने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा जारी नेपाली काँग्रेस बागमती प्रदेश समितिको सभापति पदमा बानियाँले सबैभन्दा बढी मत ल्याएका थिए ।

२ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाँलाई यो मत पर्याप्त भने होइन ।

मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे ।

बानियाँसहित तीनै जना सभापतिका उम्मेदवारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ ।

सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ । बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ ।

निर्वाचन समितिकाअनुसार चुनावमा १० मत बदर भएको छ भने १२ जनाले मतदान नै गरेनन् । राति मतगणना भएदेखि नै बानियाँले अन्य दुई उम्मेदवारलाई उछिन्दै आइरहेका थिए ।

यसअघि नेपाली काँग्रेस १३औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबिच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो ।

दोस्रो राउन्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए ।