गठबन्धनमा लफडा, माओवादीका मन्त्रीले राजीनामा दिने
काठमाडौँ – सत्तारुढ गठबन्धनमा फेरि लफडा भएपछि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने भएका छन् । यो कर्णाली प्रदेशको खबर हो ।
कर्णालीमा मन्त्रालय भागबण्डाको किचलो बढेसँगै माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको छ । केहिदिन अघिमात्र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका विन्दमान विष्टले राजीनामा दिने तयारी गरेका हुन् ।
कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सबैभन्दा ठूलो दलको नाताले कम्तिमा चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताएसँगै मन्त्रालय भागबण्डाको विषय थप पेचिलो बनेको छ ।
माओवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले भने कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताइरहेका छन् ।
विश्वासको मत लिनकै लागि मुख्यमन्त्री शाहीले केही दिनअघि माओवादीबाट एक जनालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् ।
तर अब थप तीन मन्त्री नपाए माओवादीले विष्टलाई पनि सरकारबाट फिर्ता बोलाउने शाहीले बताए । यहाँ एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मन्त्रालय भागबण्डाको किचलो नमिलेकै कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
यहाँ प्रमुख सत्तारुढ दल नेकपा माओवादीले चार मन्त्रालयमा दाबी गरिरहेको छ भने नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय मागिरहेको छ । काँग्रेसले पनि मुख्यमन्त्रीसहित तीन मन्त्रालय दाबी गरिरहेको छ । जसकारण भागबण्डा मिल्न सकेको छैन ।
‘हामी सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालयमा दाबी गर्नु अनौठो होइन’, नेकपा माओवादी संसदीय दलका नेता शाहीले भने, ‘चार मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं, एक मन्त्रीलाई पनि फिर्ता बोलाउँछौं ।’