जिप दुर्घटना हुँदा नवविवाहित दम्पतीको ज्यान गयो

सोमबार, २० मंसिर २०७८

कैलाली – जिप दुर्घटनामा हुँदा नवविवाहित दम्पतीको ज्यान गएको छ । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा नयाँ दुलहादुहीसहित चार जनाको ज्यान गएको हो ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनाराको ज्यान गएको हो ।

त्यस्तै पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृतक मनिसा र प्रेम नवविवाहित जोडी रहेको हुन् । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा पाटन १ का ४० वर्षीय जानकी भट्टराई, ३८ वर्षीय बिष्णु भट्टराई, ६६ वर्षीय मानध्वज भट्टराई, १० वर्षका दिपक भट्टराई, २८ वर्षीय ओम प्रकाश भट्टराई, र ४० वर्षीय गोबिन्दी बिक घाइते भएका छन् ।

४० वर्षीय जानकी भट्टराईलाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो।