को बन्लान देउवाको महामन्त्री ? स्वास्नी ताक्नेदेखि लात हान्नेसम्म लाइनमा
काठमाडौं – प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनबाट दोश्रो पटक पार्टी सभापति बन्ने लाइनमा छन् । दोश्रो पटक सभापतिमा उनी निर्वाचित हुने पक्का भएपनि उनको टिममा को–को पर्ने हुन् टुङ्गो लागेको छैन ।
सत्ताको चाबी हातमा लिएर बलिया बनेका उनीसँग आज सब थोक छ तर एकथोक छैन । त्यो हो वंश परम्परा बोकेका नेताहरुको साथ र समर्थनविहीन हुनु ।
राजतन्त्र अन्त्य भएर गणतन्त्र आइसकेको अवस्थामा वंशको राजनीतिले मुलुकलाई ठूलो अर्थ नराख्नुपर्ने हो तर विरासतलाई महत्व कांग्रेसको राजनीतिमा भने यसको रौनक र महत्व बेग्लै छ । त्यसैले देउवा फेरि सभापति हुने सुनिश्चित गर्न त्यही वंश पराम्परा बोकेका नेताको खोजीमा छन् ।
राजनीतिक विरासत बोकेका नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधि कुनै समय उनीसँगै थिए । आफ्नै बलबुताले राजनीतिमा स्थापित भएका सिंह र निधि दुबैका लागि विरासत थप बलियो बनाउने अस्त्र हो ।
सिंह, लौह पुरुष गणेशमान सिंहका छोरा हुन् भने निधि महेन्द्रनारायण निधि पुत्र । पार्टी विभाजन गर्दा आफूले उपसभापति बनाएका सिंह पार्टी एकतापछि तत्कालीन संस्थापन समूहतिर लागे । १२औं महाधिवेशन सुशील कोइरालाको महामन्त्री उम्मेदवार बने र दुबैले जिते ।
१३औं महाधिवेशनमा देउवाले सभापति जित्दा निधि देउवाको साथमा थिए । त्यतिखेर देउवाले १४औं महाधिवेशनमा निधिलाई सभापति बनाउने बचन पनि दिएका थिए । तर यसपालि उनले बाचा तोडेको भन्दै निधिले बाटो मोड्ने निधो गरे । निधि आफैं सभापतिमा उठ्ने तयारीमा छन् ।
हुन त देउवाले १३औं महाधिवेशनको दोस्रो चरणमा साथ पाएका कृष्णप्रसाद सिटौलासँग जिल्ला र प्रदेशमा सहकार्य गरिसकेका छन् । केन्द्रमा पनि उनको साथ पाउने सम्भावना बलियो नै छ ।
तर त्यसले पनि पहिलो चरणमै चुनाव जित्नेमा ढुक्क हुन नसकेका कारण उनी राजनीतिक विरासत बोकेका नेतालाई आफ्नो समूहमा ल्याउन चाहन्छन् । ती नेताहरुसँग छलफलका लागि देउवाले छुट्टाछुट्टै टोली नै खटाएका छन् ।
सम्वादमा संलग्न नेताहरुका अनुसार यदि राजनीतिक विरासत बोकेका कोही नेता आफ्नो टिममा आउन तयार भए उपसभापति बनाउने मात्र होइन, आफ्नो उत्तराधिकारीका रुपमा समेत अघि सार्न देउवा सकारात्मक देखिएका छन् ।
संस्थापन समूहका नेताहरुका अनुसार देउवाको पहिलो प्राथमिकतामा महामन्त्री शंशाक कोइराला छन् । शंशाक आफ्नो समूहमा आउन सहमत भए उपसभापतिको उमेद्वार बनाउने र उनलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सार्ने देउवाको सोच छ ।
त्यसका लागि देउवाका तर्फबाट एउटा समूहले शशांकसित निरन्तर संवाद गरिरहेको छ । ‘देउवाजीको पहिलो प्राथमिकता शशांकजी हो, उहाँलाई आफ्नो टिममा लिने र उपसभापति भन्ने हो,’ देउवा समूहका एक सदस्यले भने, ‘सभापतिसित शंशाकजीको जहिले पनि राम्रो सम्बन्ध छ ।’
महामन्त्रीमा देउवा समूहमै धेरै दाबेदार भएकाले शशांकलाई उपसभापति दिनु सहज हुने बालुवाटारको बुझाइ छ । देउवा समूहभित्र अहिले प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी छन् ।
त्यस्तै संस्थापन इतरबाट गगन थापा, मिनेन्द्र रिजाल, प्रदिप पौडेल लगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आफूसँगका नेताहरुलाई अन्य पदमा सेटल गरेर मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने सोचमा देउवा पुगेका छन् ।
आर्जुको प्रत्यक्ष दवावमा परेका देउवाले मिनेन्द्रलाई आफ्नो टिमको महामन्त्रीको उम्मेदवार बनाउने बालुवाटार श्रोतको भनाई छ । तर मिनेन्द्र रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने भएकाले देउवासँग आउन नमान्ने रिजाल निकट श्रोतको भनाई छ ।
सुरुदेखि देउवासँगै रहेका रिजाल देउवा निवास बुढानिलकण्ठमा घटेको एउटा घटनाका कारण पौडेल समूहमा गएका हुन् । रिजालले नमाने बालकृष्ण खाँड देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने छन् ।