चितवनमा मतपत्र च्यात्ने कार्यकर्तालाई प्रचण्डले दिए यति ठूलो उपहार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छोरी रेणु दाहाललाई जिताउन मतपत्र च्यात्ने कार्यकर्तालाई निकै ठूलो उपहार दिएका छन् ।
२०७४ सालको स्थानीय निर्माचन भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटीलाई प्रचण्डले ठूलै पद उपहार दिएका हुन् ।
उनीसँगै तत्कालिन निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई समेत प्रचण्डले एउटै कमिटिमा राखेका छन् ।
संवैधानिक अंगको प्रमुख र सदस्य भइसकेका व्यक्ति कुनै राजनीतिक पार्टीको विभागीय सदस्य बन्ने कि नबन्ने ? कानूनमा प्रष्ट नभए पनि अहिलेसम्म दलका कमिटीमै सक्रिय भएका उदाहरण पाइँदैनन् ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह भने सत्तारुढ नेकपा माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त भएका छन् ।
अधिवक्ता खिमलाल देवकोटा नेतृत्वको विभागको २८ सदस्यीय टिममा यादव र शाह पनि समेटिएका हुन् ।
अझ रोचक संयोग त के देखिएको छ भने भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मतपत्र च्यातेकोलाई वैधानिकता दिएर पुनः मतदानको निर्णय गर्ने तत्कालीन निर्वाचन आयोगका दुवै पदाधिकारी यादव र साह एउटै विभागको सदस्य बनेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल पराजित हुने निश्चित देखिएपछि माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए ।
तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहित बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
एमालेले मतपत्र च्यात्ने काममा सरकारदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मको सेटिङ रहेको आरोप लगाएको थियो । अदालतले मतपत्र च्यात्नेमा द्रोण र मधुलाई दोषी ठहर गर्दै एक(एक लाख रूपैया जरिवानासमेत गरेको थियो ।