गजेन्द्र हमाल फेरि मन्त्री बन्दै, बालुवाटारबाटै बाहिरियो गोप्य सूचना
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेका चोलेन्द्रका जेठान गजेन्द्र हमाल फेरि मन्त्री बन्ने दाउमा अघि बढेका छन् । उनी राजनीतिमा सक्रिय हुन थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटा भन्दै मन्त्री नियुक्त गरेपछि विवादमा तानिएका गजेन्द्र हमालले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।
बाँके कांग्रेसका पुराना नेता हमाल प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य उठ्दैछन् ।
‘म पहिलेदेखि यही प्यानलमा हो’ उनले भने, ‘पार्टी सभापति र अरु नेतासँग सल्लाह गरेरै उम्मेदवारी घोषणा गरेको हुँ ।’
कांग्रेसको १४औँ महाधिवेशनमा उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य उठ्न लागेका हुन् । कांग्रेस विधानले प्रदेशमा दुई खुला र एक महिला केन्द्रीय सदस्यको व्यवस्था गरेको छ ।
अघिल्लो पटक महाधिवेशन प्रतिनिधि पराजित भएपछि उनी राजनीतिमा कम सक्रिय थिए । २०७४ को निर्वाचनमा प्रदेश तथा संघीय संसद सदस्य उठ्न चाहेका थिए । तर, उनले टिकट पाएनन् ।
‘यसपटक देउवा प्यानललाई सहज छ । म चुनाव जित्छु भन्नेमा ढुक्क छु’ हमालले भने । २०२७ सालदेखि कांग्रेस राजनीतिमा लागेर बाँके पार्टी सभापति भइसके पनि हमाल पाँच वर्षदेखि निष्क्रियजस्तै थिए ।
पाँच दलीय गठबन्धन सरकारले गैरसांसद हमाललाई २२ असोजमा एकाएक मन्त्री नियुक्ती गरेपछि उनी चर्चामा आएका थिए ।
न्यायालयको कोटाबाट मन्त्री नियुक्ति गरिएको भन्दै प्रधानमन्त्री देउवा, गठबन्धन र प्रधानन्यायाधीश जबराको चर्को आलोचना भएपछि ३० घण्टा नबित्दै २४ असोजमा उनले राजीनामा दिएका थिए ।
हाल सोही बिषयमा प्रधानन्यायाधीशको राजिनामादेखि महाभियोगसम्मको चर्चा चलेको छ ।