मन्त्री आलेको अर्को काण्ड बाहिरियो, सिंहदरवारमा खैलाबैला
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अर्को काण्ड बाहिरिएको छ ।
लन्डन भ्रमणमा जाँदा किनेको १२ लाख ३५ हजार रूपैयाँको टिकटमा घोटाला भएको पाइएपछि सिंहदरबारमा खैलाबैला मच्चिएको छ ।
टिकट विक्रि गर्ने कतार एयरवेजले नै चिठी पठाएपछि झन ठूलो खैलाबैला मच्चिएको हो । गत कात्तिकमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन मन्त्री आले लण्डन गएका थिए ।
नेपालले पाएको अवार्ड लिन सोही दिनको १० बजेभित्र पुग्नुपर्ने र त्यसपछि गए पाँच दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उक्त टिकट लिएको कतार एयरवेजले बताएको छ।
उक्त निर्धारित समयको टिकटका लागि कतार एयरवेजमा बुझ्दा महंगो दरको टिकटमात्र फेला परेको मन्त्रालय स्रोतले जनाएको छ ।
कतार एयरवेजले उक्त टिकटका लागि १२ लाख ३५ हजार रुपैयाँ मन्त्रालयले तिरेको बताएको छ।
मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए। उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए।
कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए।
कार्यक्रममा भाग लिएर मन्त्रीसहित अन्य सहभागीहरू नोभेम्बर ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।