एमसिसी नेपालीको टाउकोमा तेर्स्याइएको तरबार हो भन्दै कार्यालय घेराउ

सोमबार, २७ मंसिर २०७८

काठमाडौं – नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसिसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन्।

सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन्।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसिसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताए।

उनले एमसिसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

नेता गजुरेलले एमसिसीको विरोधमा भोलि (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे।

नेता गजुरेलले भने, ‘एमसिसी भनेको एउटा यस्तो धारिलो तरबमर हो। जो नेपाली जनताको टाउकोमा तेर्साइरहिएको छ। हामी वारीपारी भएर हिँडिरहेका छौँ।

तरबार हल्लिरहेको छ। अलिकति सावधानी भएन भने गर्धन काटिन्छ। त्यसकारण एमसिसी संसोधन होइन खारेज गरिनुपर्छ।ु

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसिसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए।

उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसिसी ल्याएको आरोपसमेत लगाए।

उनले एमसिसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबीसमेत गरे।

नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनुपर्ने बेला भएको पनि बताए।

नेता बास्तोलाले भने, ‘एमसिसी इण्डोप्यासिफिक स्टाटिची भित्र सञ्चालन हुने संगठनको रुपमा चलेको छ।

यो भनेको नेपाल, भारत, चीन, उत्तर एशियाका देशहरु, उत्तर पूर्व एशियाका देशहरु, दक्षिण पूर्व एशियाका देशहरु, मध्यपूर्वका एशियाली देशहरुमा अधिकार गर्नका लागि बनाइएको संगठन हो। जति एमसिसीमा पैसा उठ्छ त्यो इण्डोप्यासिफिकमा भएर आउँछ। एमसिसी भनेको अमेरिकाको सैन्य रणनीति हो।

यो सैन्य संगठन हो। यदि यो पास भए हामी अमेरिकाको गुलाम भएर बस्नुपर्ने स्थिति छ। नेपालका सारा प्राकृतिक सम्पदाहरु अमेरिकाको हातमा हुनेछन्। अमेरिकी एमसिसी नेपालको लागि खतरनाक अवस्थामा रहेको छ।’

नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसिसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए।