निर्मला प्रकरण छानबिन बारे एआइजी धिरुले बुझाएको प्रतिवेदनमा किन हस्ताक्षर गर्न मानेनन् प्रहरी प्रवक्ता सुवेदीले ?
काठमाडौं – निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका उपर छानबिन गर्न गठित एआईजीपी धीरु बस्न्यात नेतृत्वको समितीले आफ्नो प्रतिवेदन आज आईजीपी सर्वेन्द्र खनाललाई बुझाएको छ ।
१३ अनुसूचिमा समेटिएको प्रतिवेदनले घटनाका अपराधीलाई उन्मुक्ति दिन गलत प्रमाण र गलत व्यक्तिहरु खडा गर्ने प्रयास भएको खुलासा गरेको छ । प्रतिवेदनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई नै सत्य तथ्य बाहिर नल्याउन भन्दै टेलिफोन मार्फत चुनौति दिएका विषयहरु समेत उल्लेख छन् ।
त्यस्तै निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा लुगाको टुक्रा नक्कली प्रमाणका रुपमा राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको लगायतका तथ्यहरु बाहिर ल्याईएको छ । छानबिनका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएर बयान लिईएको थियो । तीमध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई नै सत्य तथ्य बाहिर नल्याउन भन्दै टेलिफोन मार्फत चुनौति दिएका विषयहरु समेत उल्लेख छन् ।
टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको अडियो टेपसमेत प्रतिवेदनमा समेटिएको छ ।
अनुसन्धान टोलीमा ११ जना सदस्य रहेकामा नेपाल प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी उत्तम सुवेदी र एसपी डा. गणेश रेग्मीले भने प्रतिवेदनमा हस्ताक्षर मानेनन्। छानबिनमा लापरबाही गर्ने प्रहरी कर्मचारीहरु आफ्नो आफन्त नै रहेकाले उनीहरुलाई जोगाउन हस्ताक्षर गर्न नमानेको उच्च स्रोतले जनाएको छ ।
दोषी पत्ता लगाउन जारी सीआईबीको अनुसन्धानलाई तथ्यको नजिक पुग्न संकेत गरेको प्रतिवेदनको निष्कर्षमा लेखिएको छ ‘‘अनुसन्धानको कलालाई लागु र प्रयोग गर्ने हो भने मरेको लासले मार्ने मानिससम्म पुर्याउँछ ।’’