काठमाण्डौमा किन गईराछ बारम्बार बत्ती ? कुलमानले बल्ल खोले रहस्य
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताए ।
उनले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताए । उनले काठमाण्डौ उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए
आज शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो माग गएको वर्षको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ ।’
‘इन्डक्शनदेखि लिएर अहिले सबै उपकरणहरू प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा तीन सय, चार सय मेगावाट माग बढेको छ ।’ उनले भने ।
त्यसैले काठमाण्डौमा केही ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ ।
बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ । त्यो पिकको समयमा केही ट्रान्सफर्मरहरू ओभरलोडिङ भएको देखिन्छ । त्यसलाई तत्काल फेरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ ।
२०० केबीएको ट्रान्सफर्मरमा १०० केबीएको लोड हुने ठाउँमा एकै पटक २०० को लोड आइदिन पनि सक्छ । कसैले त्यो क्षेत्रमा एसी, इन्डक्शन लगायो भने भार बढ्न सक्छ ।
त्यो समस्या आउनासाथ ट्रान्सफर्मर फेर्ने काम भइराखेको छ, त्यो फेर्दा समय लाग्ने भएकोले केही समस्या आएको हो ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फण्ड काठमाण्डौ र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा खर्च हुने बताए ।