अर्थमन्त्री जनार्दन शर्मालाई झट्का, प्रचण्डले भित्तामै पुर्याए

सोमबार, १२ पौस २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाई झट्का लागेको छ । पार्टी अध्यक्ष प्रचण्डको चाप्लुसी गर्न (प्रचण्डपथ)को ओकालत गरेका शर्मालाई प्रचण्डले प्रचण्डपथको च्याप्टर क्लोज भएको बताएपछि शर्मालाई झट्का लागेको हो ।

नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको भएपनि अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिएका छन् । यसअघि शर्माले बारम्बार प्रचण्डपथ ब्युताउनु पर्ने भन्दै ओकालत गरेका थिए ।

काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गरेका छन् ।

तर शान्ति सम्झौता, संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछि बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्रचण्डपथ पदावली सबैका निम्ति स्वीकार्य हुन सम्भव नभएको पनि स्वीकार गरेका छन् ।

यद्यपि पार्टीमा बहस छलफल नै नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको भन्दै उनले भनेका छन्, ‘दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।’

सम्भव भए राष्ट्रिय सम्मेलन, नभए केन्द्रीय समितिमा छलफल गरेर निर्णय दिनुपर्ने उनले अहिले निष्कर्ष निकालेका छन् । तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस छलफल गरी निष्कर्ष निकाल्ने काम नभएको भन्दै प्रचण्डले भनेका छन्, ‘दुबै नगरी हल्का ढंगले विषयलाई पन्छाउनु गलत भएको छ ।’

यसको अर्थ पुनः प्रचण्डपथ स्थापित गर्नुपर्छ भन्ने नभएको अध्यक्ष प्रचण्डले प्रष्ट पारेका छन् । ‘अब त्यसरी सोच्न विल्कुल पछि फर्किनु हुनपुग्छ’, उनले भनेका छन्, ‘बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणका लागि अध्ययन अनुसन्धान बहस गर्नु हो ।’

त्यसका लागि प्रचण्डपथ र २१औं शताब्दीको जनवाद त्यसका निम्ति महत्वपूर्ण सन्दर्भ सामग्री भने हुने उनले बताएका छन् ।