अध्यक्षमा निर्वाचित भएपछि लिङदेनले गरे चर्चित चार नेतालाई कारवाही

शुक्रबार, १६ पौस २०७८

काठमाडौँ – राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए । नयाँ नेतृत्व पाएपछि यतिबेला राप्रपा चर्चा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन्।

राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनले बताए।

अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए।

उनले भने,‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठूलो पार्टी भन्छन्। उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन्। उनीहरु सँग कुनै आधार नै छैन। खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए।’

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरे। राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो।

विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरे।