सौर्य एयरलाईन्सकी कर्मचारीले जोसमा होस् गुमाउँदा ५० लाख चैट !
काठमाडौं – सौर्य एयरलाईन्सकी महिला कर्मचारीले पदको दुरुपयोग गर्दा प्रहरी खोरमा पुगेकी छिन् । स्रोत नखुलेको ५० लाख रुपियाँसहित सौर्य एयरलाईन्सकी महिला कर्मचारीलाई प्रहरीलाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपियाँसहित ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरिएको एयर्पोट प्रहरीले जनाएको छ ।
उनी विराटनगरबाट काठमाडौं आउने क्रममा पक्राउ परेकी हुन् । पक्राउ परेकी पोखरेल सौर्य एयरलाईन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत छिन् ।
पोखरेलको स्थायी घर मोरङको विराटनगर महानगरपालिका–४ मा पर्छ । उनी काठमाडौंको सिनामंगलमा बस्दै आएकी थिइन् ।
सौर्य एयरलाईन्सको जहाजबाट काठमाडौं आउने क्रममा विराटनगरका स्टेसन ईञ्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरेर ती महिलाको झोला पठाएको प्रहरीले जनाएको छ । यो घटनाले विराटनगरका ईञ्चार्ज पनि अनुसन्धानको दायरामा परेका छन् ।
गोप्य सूचनाका आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको पैसा फेला परेको थियो ।
पोखरेलसँग १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।