ह्वात्तै बढ्यो कोरोना संक्रमण
काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । आइतबार ११६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।
त्यस्तै, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना बढेको भन्दै एक महिना शैक्षिक संस्थाहरु बन्द गर्ने विषयमा छलफल अगाडि बढाएको छ । हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा छलफल अगाडि बढाएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले बिदा एक महिना लम्ब्याउने तयारी गरेको हो ।
विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको र कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल भइरहेको हो ।
अहिले केही निर्णय भएको नभएको तर छलफल भने जारी रहेकोभ भन्दै सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले संक्रमण बढ्दै तथ्यलाई मध्यनजर गरेर जाडो बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा कुराकानी भइरहेको बताइन् ।
तत्काल पठनपाठन भर्च्युअल गर्ने बारे कुरा नभएको पनि उनले बताइन् । जाडो बिदा लम्ब्याएपछिको अवस्था पनि सुधार नभएमा थप के गर्ने भनेर छलफल हुने सिसिएमसीले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमण अध्ययन अध्यापन प्रभावित हुन गरी नफैलिएमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदै वैशाखामा लिने तयारी भएको छ ।
शिक्षा मन्त्रालयका अनुसार सामान्य अवस्थामा चैतमा शैक्षिक सत्र सकिने हुँदा आउँदो वैशाखमा एसईई परीक्षा लिने गरी तयारी भइरहेको हो । तर पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको र अवस्था थप गम्भीर बनेमा भने परीक्षा पछि धकेलिन सक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले भने परीक्षाको मिति अहिलेसम्म तय नभएको र अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।
संसदीय समितिले हालै एसईई परीक्षा खारेज गर्न निर्देशन दिए पनि कानुनी रुपमा स्पष्ट नहुँदासम्म हाल कायम रहेको शिक्षा ऐनको व्यवस्था अनुसार नै एसईई परीक्षा बोर्डले लिने गरी तयारी भइरहेको हो ।