प्रकाशमानले यस कारण देउवालाई भोट हालेका रहेछन्, एक महिना पछि खुल्यो रहस्य

बिहिबार, २९ पौस २०७८

काठमाडौं –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् ।

उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि महाधिवेशन प्रतिनिधिहरु पुरानै नेतृत्वको पक्षमा देखिएपछि आफूले देउवालाई सघाएको प्रष्ट पारे ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले भने, ‘म शुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ ।

त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

कांग्रेसको १४ औं महाधिवेशनमा नेता सिंहले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा देउवा, पूर्व उपसभापति विमलेन्द्र निधि, नेता सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार थिए ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । देउवालाई बहुमत पाउन ८२ मत पुगेन ।

नेता सिंहले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई समर्थन गर्दा आफूविरुद्ध अर्को पक्ष उत्रिएको बताए । नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने आफ्नो एजेण्डाका पक्षमा मत नआएकोमा उनले गुनासो गरे ।