मद्येश प्रदेशका मुख्यमन्त्री राउतमाथि सांघातिक आक्रमण

मंगलबार, ४ माघ २०७८

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा आक्रमण भएको छ । उनको घरमा ढुङ्गामुढा प्रहार भएको हो ।

वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए ।

प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो ।

वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।

र्‍यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार र्‍याली पावरहाउस जाने जानकारी गराइएको थियो ।

‘पावर हाउसतर्फ जाने क्रममा अचानक र्‍यालीबाट केही युवाहरु राधेमाईतर्फ मोडिएका थिए,’ प्रहरी प्रवक्तासमेत रहेका खनालले भने, ‘भिडमा रहेका एक युवाले ढुंगा प्रहार गरेको पाइएको छ, ढुंगा प्रहारले दुईवटा सिसामा प्वाल परेका छन् ।’

सीसीटीभीमा ढुंगा प्रहार गर्ने युवकको पहिचान भइसकेको डिएसपी खनालले बताए । उनले भने, ढुंगा प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छौं ।