देउवाले राखे चुनाव बारे नयाँ प्रस्ताव
काठमाडौ– नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गरेको प्रस्ताव भन्दा फरक ढंगले सत्तागठबन्धले छलफल अघि बढाइएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले कोभिड रोकथाम ,तीनै तहको निर्वाचन लगायतका बिषयमा कुराकानी भएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् भने भोली सर्वदलीय बैठक समेत आयोजना गरिएको छ ।
आजको बैठकमा कुन तहको निर्वाचन कसरी संविधान बमोजिम सम्पन्न गर्ने भनेर कुराकानी भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । स्थानिय तह , प्रदेश र संघको निर्वाचन एकै पटक गर्न सकिन्छ की भन्ने बिषयमा पनि आज गहिरो सँग छलफल भएको कार्कीले जानकारी दिएका छन् ।
निर्वाचन प्रणाली अत्यन्तै महंगो भयो भन्ने बिषयमा पनि छलफल भएको र त्यसलाई कसरी कुन विधीबाट कम गर्न सकिन्छ भन्ने बिषयमा पनि कुराकानी भएको मन्त्री कार्कीले जानकारी दिएका छन् । तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा निर्वाचन आयोग , संविधानविदहरु लगायत सरोकारवाला सबै पक्ष सँग छलफल गरेर निर्णयमा पुगिने मन्त्री कार्कीले जानकारी दिएका छन् ।
यद्यपि, सत्तारुढ दलमा स्थानीय निर्वाचनमा विषयमा एकरुपता कायम हुन सकेको छैन। तर, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघीय र त्यसपछि स्थानीयतहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ती सबै निर्वाचनका विषयमा सत्तारुढ दलमा एक मत भएपछि निर्वाचनको मिति घोषणा हुन सक्ने बताएको छ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख जेठमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन्। तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्।
उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ।त्यसलाई लिएर बिहीबार प्रचण्ड, देउवा र माधव नेपाल पनि वार्तामा बसेका थिए। उनीहरुले पनि बैठकमा एमालेले संसद चल्न नदिएकाले अब नयाँ जनादेशमा जानु उचित हुने निष्कर्ष निकालेका थिए।
बैठकमा समिति प्रमुख एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी थिए ।