मन्त्री आलेको कोरोना रिपोर्ट नेगेटिभ, रिपोर्ट आउने वित्तिकै चाले कठोर कदम

सोमबार, १० माघ २०७८

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको कोरोना भाइरस (कोभिड १९) रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अघिदेखि कोरोना संक्रमित भई आइशोलेसनमा बसेका आले आज कोरोना संक्रमण मुक्त भएका हुन् ।

अब आलेले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्ने भएका छन् । त्यसका लागि उनले कर्मचारीलाई तयारी अबस्थामा रहन निर्देशन दिएका छन् ।

भोली बुधबार आलेले सम्झौता रद्द गर्ने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने जानकारी दिए । भोलि पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने जनाईएको छ।

यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए ।

छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बताससँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिईसकेका छन् ।

समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।