मैहुँ हुन्ने प्रहरी इन्स्पेक्टरको जागिर खोसियो

सोमबार, १० माघ २०७८

काठमाडौं – मैंहुँ भन्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को जागिर धरापमा परेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा अन्तर्गत प्रहरी परिसर, ललितपुरमा कार्यरत एक प्रहरी इन्स्पेक्टरको जागिर धरापमा परेको हो ।

चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टर सानुकान्छा रम्तेललाई जिम्मेवारीबाट हटाइएका छन् ।

छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो ।

घटनामा उनले आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अपराध महाशाखामा सूचना पुगेको थियो ।

‘उनीविरुद्ध केही प्रश्न उठेपछि एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानविन समिति बनाएर अनुसन्धान भइरहेको छ’ कुँवर भन्छन्, ‘समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए कारबाही हुन्छ ।’

हाललाई रम्तेलको ठाउँमा महाशाखाको बानेश्वरस्थित कार्यालयमा कार्यरत निरीक्षक केशव बाह्रकोटीलाई ललितपुर पठाइएको छ ।