अब जेल जाने पालो मन्त्री यादवको !

बुधबार, १२ माघ २०७८

काठमाडौं – व्यक्ति हत्या गर्ने हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव जेल जाने देखिएको छ ।

जिम्मेवार पदमा बसेर अपराध गर्ने धम्की दिएकी मन्त्री यादवले त्यसको आलोचना भएपछि विवादलाई डाईभर्ट गर्न खोज्दा अर्को अपराध गरेकी छन् । अर्थात आफ्नै पद र सपथविरुद्ध उनले कसुर गरेकी हुन् ।

आफ्नो अभिव्यक्ति आफैलाई महंगो सावित भएपछि मन्त्री यादवले सोमबार विज्ञप्ति जारी गरेर सफाई दिइन् । आफू विवादबाट बच्न उनले विज्ञप्तिमार्फत सफेद झुट बोलिन् । ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन भनेकी हुँ,’ उनले विज्ञप्तिमा दाबी गरेकी छन् ।

तर उनले बोलेको भिडियो हेर्ने हो रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या गरेजस्तै घटना दोहोर्याएर सीके राउतलाई मार्ने धम्की दिएकी छन् । सीके राउतका कार्यकर्ताले आफूलाई कालोझण्डा देखाएको आक्रोशमा पदीय मर्यादा ख्याल नगरी मन्त्री यादव हत्या गर्ने चेतावनी दिएर गुण्डागर्दीमा उत्रिएकी थिइन् ।

‘गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईंको लाठीको त्यही टुक्रा९टुक्रा पारेर तपाईंकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ । यदि तुफानसँग टक्रायौ भने तपाईंको त्यही हालत हुन्छ जो गौरको राइस मिलमा भयो ।

त्यो इतिहासलाई नभुल्नुस् । म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन् । र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन्,’ मन्त्री यादवले डा सीके राउतलाई चेतावनी दिँदै भनेकी थिइन् ।

तर विज्ञप्तिमा भने उनले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको भनेर दिउँसै रात पार्नेगरी झुट बोलेकी छन् । उनको अभिव्यक्ति हिंसात्मक गतिविधि गर भनेर उकास्ने खालको थियो । यसरी मन्त्री यादवको झुट नै उनलाई जेलसम्म पुर्याउन सक्ने अपराध कानुनका जानकार बताउँछन् ।

उनको अभिव्यक्तिको प्रमाण र विज्ञप्ति लगेर अदालतमा मुद्दा परे मुलुकी अपराध संहिता २०७४ को दफा ८१ आकर्षित भई मन्त्री यादवको पद त जाने नै छ, साथै २ वर्ष जेल र २० हजार जरिवानासम्मको सजाय हुनेछ ।

दफा ८१ मा कानूनबमोजिम सपथ लिइ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झूटो बोल्न नपाइने र जानाजान भ्रम छर्ने गरी बोलेमा दुई वर्षसम्म कैद वा २० हजार रूपैयासम्म जरिवाना तथा दुवै सजाय हुने उल्लेख छ ।

यही प्रावधानअनुसार सीके राउतका कार्यकर्ता कानुनी उपचारमा जाने तयारीमा लागेका हुन् । उनीहरु प्रमाणसहित अदालतमा मुद्दा दायर गर्ने निष्कर्षमा पुगेका छन् । जसले रेणुको बर्खास्तीसँगै कैद सजायको सम्भावना बढाएको छ ।