बैशाखमा चुनाव गर्न प्रचण्डले राखे देउवासँग यस्तो सर्त

शनिबार, १५ माघ २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटा सर्त राखेका छन् । प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका देउवासँग गठबन्धन बनाएर चुनावमा जानपर्ने सर्त राखेका हुन् ।

यो सर्तमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएका छन् । वैशाखमै स्थानीय तहको चुनाव गर्ने हो भने गठबन्धनलाई कायमै राखेर चुनाव लड्नुपर्ने उनीहरुको सर्त छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रचण्ड र नेपालले देउवासमक्ष यस्तो प्रस्ताव राखेका हुन् ।

‘वैशाखमै स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हामी चुनावका लागि तयार छौं, तर गठबन्धनलाई कायमै राखेर चुनाव लड्नुपर्छ । त्यसो भएदेखि चुनाव जहिले भएपनि गर्न सकिन्छ ।’

कांग्रेसकै नेताहरूले देउवालाई गठबन्धन नगर्न सुझाव दिइरहेका बेला प्रचण्डले अर्थपूर्ण हिसाबले बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । प्रचण्डले यो प्रस्ताव राखेपछि नेपालले ‘हो’ भन्दै सहमति जनाएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव भने केही बोलेनन् ।

प्रचण्ड र नेपालका तर्फबाट यस्तो शर्त आएपछि देउवाले आफ्नो पार्टीभित्र छलफल गरेर टुंगो लगाउने बताए । बैठक लगत्तै देउवा आफूनिकट नेताहरूसँग परामर्शमा छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन् । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।

उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।