एमालेले तीनै तहमा बहुमत ल्याउछ टोपबहादुर रायमाझी
प्रमुख प्रतिपक्षी दल नेकपाएमाले का सचिव टोपबहादुर रायमाझीले एमालेले तीनै तहमा बहुमत ल्याउने दाबि गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए। ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ’, उनले भने, ‘उहाँ विधिसम्मत चल्नुभएन।’
रायमाझीले सभामुखलाई हटाउँदा राम्रो हुने बताए। यद्यपि एमाले नै अघि सरेर सभामुखमाथि महाभियोग लगाउनेबारे नसोचेको उनले बताए।
‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ। एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ’, उनले भने, ‘सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन। तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ। कांग्रेसले महाभियोग प्रस्ताव ल्याएमा साथ दिन्छौं।’
रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन्।