साँझपख राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के–के भयो कुराकानी ?
काठमाडौं – एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रमुख विपक्षी दलका नेता समेत रहेका ओलीले शनिबार बेलुका शीतल निवासमा पुगेर भण्डारीसँग भेट गरेका हुन् ।
ओली र भण्डारीका बीच एमसीसी, स्थानीय तहको निर्वाचन र सरकारको कामकारबाहीका विषयमा छलफल भएको बुझिएको छ ।
राष्ट्रपति भण्डारी एमालेकी पूर्वउपाध्यक्ष समेत हुन् । एमालेलाई फाइदा हुने गरेर केही दिन अगाडि भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएर स्थानीय तहको निर्वाचन समयमा गर्न आग्रह गरेकी थिइन् ।
संविधान र कानून विपरीत भण्डारीले कार्य गरेको भन्दै आलोचना भएको थियो । भण्डारीले अहिले आएर फेरि आफ्नो पार्टीका अध्यक्ष ओलीसँग सुटुक्क भेट गरेकी छिन् ।
भण्डारीले राष्ट्रपति पदको गरिमालाई बचाउन नसकेको भनेर आलोचना भइरहेका बेला ओलीसँग भेट गरेकी छिन् ।
तत्कालीन समयमा प्रधानमन्त्री रहेका बेला ओलीले प्रतिनिधि सभालाई दुई पटकसम्म बिघठन गर्दा भण्डारीले सो निर्णयलाई सदर गरेकी थिइन् ।
भण्डारीले ओलीका गलत हर्कतलाई साथ दिएकै कारण झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार साढे तीन वर्षमा ढलेको थियो ।
कम्युनिस्टहरू असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व लिइरहेका छन् ।