मूर्ति चोरलाई गठबन्धन सरकारले बनायो पर्याटन मन्त्री

सोमबार, २४ माघ २०७८

काठमाडौं – गठबन्धन सरकारले मूर्ति चोरको अभियोगमा जेल सजाए भोगेका व्यक्तिलाई पर्याटन मन्त्रालयको जिम्मेवारी दिएको छ । यो कर्णाली प्रदेशको खबर हो ।

मूर्ति चोरको सजाय भोगेका छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका हुन् ।

हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसदसमेत हुन्।

सांसद नभएकालाई छ महिना मन्त्री बनाउन सकिने प्रावधानको आडमा गैर सांसदलाई मन्त्री बनाइएको हो। लामा मूर्ति चोरीको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति भएको भन्दै आलोचना भइरहेपनि उनी मन्त्री बनेका हुन्।

प्रदेश कमिटी र संसदीय दलको विरोध रहँदा पनि प्रचण्डको निर्देशनमा उनी मन्त्री बनेका हुन्। मुख्यमन्त्री जीवन बहादुर शाहीले आइतबार उनी सहितका अन्य मन्त्रीलाई सपथ गराएका छन्।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले आइतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

त्यस्तै, परियारले जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

कर्णालीमा ८ सदस्यीय मन्त्रीमण्डल बनेको छ।