पर्याटन मन्त्री आलेले गरे एकाएक राजीनामा दिने घोषणा !
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एकाएक राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेको राज्यको सम्पती फिर्ता ल्याउन नसके आफूले राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले यी काम गर्न नसके एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका हुन् । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पती फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका हुन् ।
राज्यको दोहन भएको सम्पती फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए ।
विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए ।
पदमा बसुञ्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए ।
नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए ।
मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्युन छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए ।