दुई मन्त्री थप्दै देउवा, यी हुन् मन्त्री बन्ने भाग्यमानी नेता
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री थप्ने तयारी गरेका छन् । आउँदो सोमबारसम्म दुई मन्त्री थप्ने देउवाको तयारी छ ।
देउवानिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थप गर्न लागेका हुन् । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन् ।
थपिने दुवै मन्त्री नेपाली कांग्रेसकै तर्फबाट हुने छन् । गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो ।
त्यसपछि उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् । अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ ।
दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । रक्षा मन्त्रीमा देउवाले सुजता कोइरालाई बनाउने लगभग पक्का भएको छ ।
त्यस्तै, उद्योग मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याउने तयारी गरेका छन् ।
कांग्रेस सभापति देउवाले बाँकी १७ केन्द्रीय सदस्य पनि मनोनीत गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको विधानमा सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
यसअघि, उनले १६ केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् ।
आउँदो सोमबारसम्म बाँकी केन्द्रीय सदस्य मनोनीत गर्ने देउवाको तयारी रहेको स्रोतको भनाइ छ ।