चुनावमा सहभागी होला विप्लव नेतृत्वको नेकपा ? चुहियो गोप्य रणनीति
काठमाडौँ – आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले के गर्ला भन्ने धेरैको चासोको विषय बनेको छ । यसविच २७ औँ जनयुद्ध दिवसका अवसरमा नेताहरुले चुनावमा सहभागी नहुने संकेत गरेका छन् ।
विप्लवको निकै नजिक रहेका बरिष्ठ अधिवक्ता तथा बेपत्ता परिवारका सदस्य एकराज भण्डारीले नेकपाले चुनाव बहिस्कार गर्ने संकेत गरेका छन् । नेकपा उपत्यका पार्टीले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै भण्डारीले पार्टीले चुनाव बहिस्कारको नीति लिने संंकेत गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका भण्डारीले चुनाव घोषणा हुँदा आफूहरुको काम बढ्ने भन्दै चुनाव बहिस्कार हुने संकेत गरेका हुन् । कार्यक्रममा एका आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्न एकले अर्कालाई अभिर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका बेपक्षा परिवार तथा बरिष्ठ अभिवक्ता एकराज भण्डारीले पार्टीको विचार जनतासम्म लिनका लागि केही मौलिकता आवश्यक भएको बताए ।
जनयुद्धमा भएका विभिन्न घटनाहरुलाई अनुमुतिका रुपमा राख्दै उनले विश्वविद्यालयमा नपाइने ज्ञान जनतासँगको समिप्यतामा पाइने बताए । जनतासँग घुलमिल हुने नेताको चरित्र भएकाले त्यसलाई विर्सन नहुने उनको सुझाव थियो ।
देशमा फेरी पनि क्रान्तिको आवश्यक भएको भन्दै क्रान्तिका लागि बातावरण बन्दै गएको बताए । उपस्थित सबैलाई जनयुद्ध दिवसको शुभकामना दिदै चुनाव घोषणा भएकाले आफूले काम पाउने विश्वास पनि व्यक्त गरे । उनको आशय नेकपाले चुनाव बहिस्कार गर्ने, जनकारवाही र कारवाही हुने, नेताहरु पक्राउ पर्ने र आफूहरुले मुद्धा लड्न पर्ने अवस्था आएको भन्ने थियो ।
कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले प्रचण्डका कारण जनयुद्ध असफल भएकाले यसलाई आफूहरुले निरन्तरता दिएको बताए । ‘हामीले जनयुद्ध सुरु गर्दा केही सपनाहरु थिए । नौलो जनवाद, जनगणतन्त्र र समाजवाद हाम्रा मुख्य एजेण्डा थिए । पछि नेतृत्वका कारण पार्टीले ठूलो हार व्यहोर्यो ।’ उनले भने, ‘यसको निरन्तरताका लागि विप्लवको नेतृत्वमा फेरी संघर्ष सुरु भएको छ । हामी हाम्रो यो सपना एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत पुरा गरेरै छोड्छौँ ।’
उनले उपस्थिति सबैलाई जनयुद्ध दिवसको शुभकामना दिदै पार्टीको कार्यदिशामा लामबद्ध भएर लाग्न सबैलाई अपिल गरे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, जनपत्रकार संगठन नेपालका इन्चार्ज तथा रातो खबरका निर्देशक बसन्त श्रेष्ठ (प्रज्वलन)ले जनयुद्ध दिवसको अवसरमा सबैलाई शुभकामना दिदै जनयुद्ध जुन उद्येश्यका साथ सुरु भएको थियो, त्यो उद्येश्य पुरा नहुँदासम्म अन्तिमसम्म लागिपर्नका लागि प्रतिबद्ध हुन सबैलाई आग्रह गरे ।
उनले जनयुद्धका क्रममा बेपत्ता भएका करिव तीन हजार यौद्धाहरुको सार्वजनिक गर्नका लागि जोजदार रुपमा आवाज उठाउन पर्ने बताए । पार्टी शान्तिप्रक्रियामा आएको लामो समय भइसक्दा पनि बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु आश्चर्यजनक भएको भन्दै यसका लागि पार्टी पंतिले संघर्ष गर्न पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा ललितपुर–भक्तपुर जिल्ला इन्चार्ज नविन विश्वकर्मा (हितमान), केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय कार्यालयमा कार्यारत चुँडामणी ओली (आदर्श), केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विप्लव, केन्द्रीय सदस्य तथा अनमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्द, केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, युवा संगठनका अध्यक्ष पाटन जंगली, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले शुभकामना मन्तव्य राख्दै पार्टीले छिटो भन्दा छिटो क्रान्तिकारी धार समात्न पर्ने धाराणा राखेका थिए । सामना सांस्कृतिक परिवारले आफ्ना प्रस्तुतिले कार्यक्रममा शोभा बढेको थियो । कार्यक्रममा हास्य कलाकार तथा पूर्वजनमुक्ती सेना सुवोध गौतमले पेट मिचिमिची हँसाएका थिए ।



































