एमसीसी पास गर्न प्रचण्डको नयाँ शर्त

मंगलबार, ३ फाल्गुन २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसी पास गर्न नयाँ शर्त राखेका छन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्डले नयाँ शर्त राखेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भद्र सहमति तोडेर प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न एमाले तयार हुनपर्ने सर्त राखेका छन् । संसदको अवरोधका बिचमा एमसीसी टेबुल नहुने उनको शर्त थियो ।

उनको शर्त सुनेपछि प्रधानमन्त्री देउवाले एमसीसी झस्किएका छन् । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यथास्थितिमा एमसीसी पास नगर्ने निर्णय गरेका कारण आफूले नैतिक रुपमै साथ दिन नसक्ने बताए । त्यो बेला माधवकुमार नेपाल पनि पार्टीको वरिष्ठ नेता भएको भन्दै उनले एकीकृत समाजवादीका अध्यक्षतिर हेरे ।

एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार प्रचण्डले एमसीसीका कतिपय बुँदामा सहमति हुन नसक्ने बताए । उनले भनेका छन्, ‘नेकपा हुँदा नै पार्टीले नै निर्णय गरेको हो, जस्ताको तस्तै अगाडि बढाउन हुँदैन ।’

यद्यपि दलहरुबीच सहमति हुँदा निकास दिन सकिने भन्दै प्रचण्डले के निकास हुनसक्छ भनेर सहमति खोज्नुपर्ने बताएको श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पहिले संसद खुल्नुपर्ने त्यसपछि एमसीसीमा राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

उनले भने, ‘माओवादीको धारणा प्रष्ट छ, सबभन्दा पहिले संसद खुल्नुपर्छ । त्यसपछि एमसीसीका विषयमा राष्ट्रिय सहमतिको प्रयास हुनुपर्छ । अनि मात्रै अघि बढ्ने नबढ्ने (प्रष्ट) हुन्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एमसीसीलाई संसदमा अगाडि बढाउन नहुने बताएका छन् । महन्थ ठाकुर नेतृत्वको दल लोकतान्त्रिक समाजवादी पार्टीका अकवाल अहमद साहले एमसीसी सम्झौता संसदमा लगेर छलफल गर्नुपर्ने बताए भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरे ।

नेताहरुका अनुसार प्रचण्डले एमसीसी टेबल गर्नै नदिने त बताएनन्, तर पहिले संसदको अवरोध हट्नुपर्ने बताए । सभामुख सापकोटाले पनि दलहरु निर्णायक र आफू अम्पायर मात्र भएको बताए । तर संसदको अवरोध हट्नुपर्नेमा उनले पनि जोड दिए ।

एमसीसी टेबल गर्नै नदिने नभन्ने, तर संसदको अवरोध हट्नुपर्छ भनेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले संसद खुलाउन एमालेले राखेको माग सम्झाएका छन् । माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग रहेको भन्दै उनले प्रश्न गरे, ‘यो माग पूरा गर्न सकिन्छ ?’

त्यसमै प्रधानमन्त्री देउवाले थपे, ‘एमालेले त सभामुखलाई राजीनामा गराऊ भनेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘अस्ति त माधव नेपालसहित १४ जना सांसदलाई हटाउनुपर्‍यो मात्र भनेका थिए, सभामुखप्रति सफ्ट थिए होइन र’ भनेर प्रश्न गरे ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सभामुखबारे धारणा बताएको बैठकमा सुनाए । यद्यपि सरकार सभामुखलाई राजीनामा गराउने पक्षमा नभएको पनि उनले स्पष्टोक्ति दिए ।

शनिबार प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी अघि बढाउन दिने, तर आफ्ना सांसदहरु संसदमा अनुपस्थित हुने सहमति गरेका थिए । प्रधानमन्त्री देउवा पनि प्रचण्ड र नेपालको मागअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउन सहमत भए ।

आइतबार विहानै महाअभियोग प्रस्ताव दर्ता पनि भयो । तर सोमबार सर्वदलीय बैठकमा पुग्दासम्म प्रचण्ड सहमतिबाट पछाडि फर्किएको जस्तो ‘इम्प्रेसन’ आफूलाई परेको एक मन्त्रीले सुनाए । सहभागी सरकारका एक मन्त्री भन्छन्, ‘प्रचण्ड अलि अलमलिएको, (एमसीसी टेबल गर्ने सहमतिबाट) पछाडि फर्किएको जस्तो इम्प्रेसन परेको छ ।’

स्रोतका अनुसार प्रचण्डले आइतबार दिनभर पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिएनन् । विहान जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमबाट बालुवाटार गए । त्यसपछि जनकपुर पुगेका उनी साँझ मात्र फर्किएकाले एमसीसी अघि बढाउन सहमति दिएकामा आक्रोशित पार्टीका नेताहरुले उनलाई भेट्न पाएनन् ।

आइतबार विहानै नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेल लगायतका नेताहरु प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगे । नेताहरुले अहिले एमसीसी संसदमा टेबल गर्न नहुने तर्क गरे । ‘संसद अवरुद्ध भएको अवस्थामा यस्तो विषय छलफल गराउन सकिन्न । अहिलेसम्म कुनै पनि ऋण र सहयोग सम्झौता संसदमा पेश गरेको छैन । भोलि कसैले माग गरे पनि गर्ने कि नगर्ने ? यो विषयमा राष्ट्रिय सहमति हुनुपर्छ,’ एक नेता भन्छन्, ‘नभए कसरी यो सम्झौता संसदमा प्रवेश गराउन सकिन्छ ?’

संसदको अवरोध हटेको अवस्थामा भने एमसीसी टेबल गर्न दिन सकिने नेताहरुले बताए । तर बालुवाटारमा सहमति भए जस्तो एमसीसी टेबल हुँदा संसद बहिस्कार गर्ने वा अनुपस्थित हुने होइन, त्यहीँ बसेर विरोध गर्ने नेताहरुले बताए ।

त्यसपछि प्रचण्डले ‘ल त ल सर्वदलीय बैठकमा यही कुरा राख्छु’ भनेको एक नेताले बताए । प्रचण्डलाई भेटेका नेता मध्येका एक हरिबोल गजुरेल पनि संसदको अवरोध कायमै रहेको बेला एमसीसी अघि बढ्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘पार्टीभित्र र बाहिर जे विषय उठिरहेको छ, त्यसलाई क्लियर गर्ने हिसाबले दुबै पक्षले एउटा सहमति गर्नुपर्छ । यसो भने संसदमा लैजान सकिन्छ भन्नुभएको छ ।’