बैठकमा झलनाथ खनालले अध्यक्ष नेपालललाई यति सम्म भनेपछि …
नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल सहित सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमति भयो । पार्टी अध्यक्ष नेपालकै सहमतिमा टेबल भएको एमसीसीलाई लिएर सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले भने संसद् बैठकमै विरोध गरे ।
संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता खनालले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको भन्दै पार्टीभित्र एमसीसी सम्झौता संसद्मा टेबल गर्न दिने विषयमा निर्णय नभएकोसमेत जिकिर गरे ।
साथै उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई पेस गरिएको आरोपसमेत लगाए ।
एसमीसीलाई लिएर सत्ताको एउटा घटक एकीकृत समाजवादीभित्र विवादले चर्कोरूप लिएपछि सोमबार बोलाइएको सचिवालय बैठकले भने एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादी स्रोतका अनुसार सचिवालय बैठक केही समयका लागि स्थगित गरी अध्यक्ष नेपाल र नेता खनालले ‘वान टु वान’ छलफल गरेका थिए । चर्कोरूपमा एमसीसीको विरोध गर्दै आएका खनालले सत्तारूढ गठबन्धनको बैठकमा टेबुल गर्न सहमति किन दिएको भन्दै अध्यक्ष नेपालसँग प्रश्नसमेत गरेका थिए ।
जवाफमा अध्यक्ष नेपालले टेबल गर्न दिए पनि पार्टी निर्णयअनुसार त्यसको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एमसीसीप्रति अध्यक्ष नेपाल नरम भएकोमा समेत नेता खनालले गुनासो गरेका थिए । नेपाल र खनालको छलफलपछि सो पार्टीले पुनः एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।