एमसीसी पास गराउन ओलीलाई एकोहोरो फकाउँदै देउवा
काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल भएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बहुमत जुटाउन कस्सिएका छन् । अहिले प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास गराउन सहयोगको लागि राजनितिक दलहरुसँग आग्रह गरिरहेका छन् ।
गठबन्ध दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संसदमा एमसीसीको पक्षमा मत नदिने बताउदै आएपछि अहिले प्रधानमन्त्री देउवाले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउनमा लागेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति समेत रहेका देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बिष्णु रिमाल र उपमहासचिव विष्णु पौडेल पनि समेल रहेको उक्त भेटवार्तामा देउवाले मसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । देउवाले यस्तो आग्रह गरेपछि अोलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएका थिए ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए ।
तर ओलीले अस्विकार गरिदिए । ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा गरेका थिए ।
त्यसको भोलिपल्ट अर्थात बुधबार नै प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँणलाई पठाए । गृहमन्त्री खाँण ओलीलाई भेट गर्न उनकै निवास बालकोट नै पुगे । उनले पनि ओलीलाई एमसीसी अनुमोदन गराउन सघाउन आग्रह गरे ।
जवाफमा ओलीले गठबन्धन टुट्नुपर्ने र संसदमा आफ्नो दल सहभागी हुने वातावरण मिलाउनुपर्ने कुरा गरे । माओवादी र एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भनेसँगै प्रधानमन्त्री देउवाले ओलीलाई एकोहोरो फकाइरहेका छन् ।
यता, माओवादी र एकीकृत समाजवादीमाथि आफ्नै पार्टीभित्र र बाहिरबाट सरकार छोड्न समेत दबाब पनि आएको छ । एमसीसी टेबल गर्न दिने अनि फेरि विरोधका लागि आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने यस्तो दोहोरो चरित्र ठिक नहुने भन्दै सरकार छोड्न दबाब आइरहेका छन् । गठबन्धनकै एक घटक जनमोर्चा भने एमसीसीको विरोधमै छ ।
जसपाको उपेन्द्र यादव पक्ष माओवादी र प्रमुख एकीकृत समाजवादीले गर्ने निर्णय कुर्दै चुप बसेको छ । यस्तै जसपाको डा बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा छ ।