अन्ततः जेलको चिसो हावा खाने भए पल शाह !

बुधबार, ११ फाल्गुन २०७८

काठमाडौं – अभिनेता पल शाहविरुद्ध गायिका समिक्षा अधिकारी एक्सनमा उत्रिएकी छन् । उनले जबरजस्ती करणीसम्बन्धी कसूरमा शाहविरुद्ध किटानी जाहेरी दिएर एक्सनमै उत्रिएकी हुन् ।

गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

यसअघि दुबै जनाले परिवारको सल्लाहमा सम्झौता भएको खबरहरु आएका थिए । तर शाहले यसलाई अस्विकार गर्दै आएका थिए ।

नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् ।

यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

यस्तै, समीक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले समीक्षालाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् ।

हिजो काठमाडौंबाट दिदी–भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन ।

आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो । जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् ।

कानूनबमोजिम शाहलाई कडा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो ।

यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर थामथुम पारेपछि उनी रोकिएकी थिइन् । अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ ।

समीक्षाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।