अर्थमन्त्री हराएको सूचना !

बिहिबार, १२ फाल्गुन २०७८

काठमाडौँ – आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गरियोस् भन्ने प्रस्ताव सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहानै देखि अर्थमन्त्री शर्मालाई खोजिरहेका छन् । तर शर्मा भने प्रधानमन्त्रीको सम्पर्कमा आएका छैनन् । फागुन ८ गतेपनि अर्थमन्त्री शर्मा बैठकमा अनुपस्थित भएका थिए ।

उनी अनुपस्थित भएपछि संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए । आज पनि शर्मा सम्पर्कमा नआएपछि मन्त्री कार्कीले नै छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् । सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ ।

उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उधोग वाणिज्य संघको भोलि हुने साधरणसभामा सहभागी हुन कुश्मा पुगेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । गत आइतबार सरकारले एमसीसी टेबल गरेको थियो र छलफलका लागि आजको बैठक तय भएको हो ।

आजको संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।