पूर्वमन्त्री श्रेष्ठले पारे साढे ४ करोड झ्याम

आइतबार, १५ फाल्गुन २०७८

काठमाडौं – पूर्वमन्त्री रामकुमार श्रेष्ठले साढे ४ करोड झ्याम पारेको खुलासा भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि खुलासा भएको हो ।

पूर्वसचिव समेत रहेका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

अख्तियारले उनीमाथि ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दावी गरेको छ ।

श्रेष्ठ शिक्षक पदबाट १८ चैत २०२६ सालमा सेवामा प्रवेश गरी २६ कात्तिक २०३६ मा शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।

विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई ८ माघ २०६४ मा अनिवार्य अवकाश पाएका श्रेष्ठ ६ कात्तिक २०६९ देखि २९ माघ २०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीसमेत भएका थिए ।

श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६२७ देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

जसमध्ये उनको खर्च (व्यय) ११ करोड ३५ लाख ४४ हजार २९४ देखिन्छ ।

खर्च कटाएर बाँकी रहेको ४ करोड ४५ लाख २७ हजार ६६६ बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

श्रेष्ठ शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन अख्तियारको ठकर छ ।

यसरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोे अख्तियारको दाबी छ ।