गगन थापाले संसदमै उठाए अमेरिकामाथि सिरियस प्रश्न, अमेरिकाले मान्ला ?

आइतबार, १५ फाल्गुन २०७८

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभाको बैठकमा सिरियस प्रश्न उठाएका छन् । उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका हुन् ।

आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् ।

छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङ, राप्रपाका राजेन्द्रलिङ्देन लगायतका सांसदले व्याख्यात्मक टिप्पणी सांसदलाई झुक्याउने खेल भन्दै अमेरिकाले त्यसलाई मान्छ भनी प्रश्न गरेका थिए ।

एमसीसी छलफलमा भाग लिँदै कांग्रेस सांसद थापाले व्याख्यात्मक टिप्पणी अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताए ।

‘‘त्यो (व्याख्यात्मक टिप्पणी) समेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मानदैन ? नमाने सन्धि अगाडि बढ्दैन’ उनले भने, ‘पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ ।’

‘उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मात्र सन्धि अगाडि जाने हो ।’ उनले भने ।

संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरु हिनतावोधले ग्रस्त हुनु नपर्ने पनि थापाले बताए ।

अब एमसीसीबारे सडकका जनतालाई विश्वस्त पार्ने दायित्व सबै नेताहरुको भएको उनको भनाइ छ ।

एमसीसी आजै नेपालको संसदबाट पारित हुँदैछ । संसद बाहिर चर्को विरोध भइरहेका बेलामा एमसीसी संसदबाट पारित हुने लागेको हो ।