एमसीसी पास भएपछि भकाभक पार्टी छाड्दै माओवादीका नेता–कार्यकर्ता

सोमबार, १६ फाल्गुन २०७८

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्रका धेरै नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

कुनै कानुनले नचिन्ने व्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पारित गरेपछि नेता तथा कार्यकर्ताहरुले भटाभट पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

माओवादी परित्याग गर्दै बोहोराले लेखेका छन्, ‘प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषण र जानकारी गर्दछु ।’

नेकपा माओवादी केन्द्रको व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै नेताहरु पार्टी परित्याग गर्न लागेका हुन् ।

उनी त एउटा उदाहारण मात्र हुने गाउँगाउँमा पार्टी परित्यागको लहर चलेको छ । जनताले निकै आशा गरिएका प्रचण्डले घोका दिएको भन्दै धेरैले माओवादी परित्याग गरेका छन् ।

एमसीसीको विरुद्धमा माओवादीले देशभर माहोल बनाएको भएपछि अन्तमा राष्ट्रघात गरेको धेरैको विश्लेषण छ ।