नेपाल बन्द सफल पार्न शक्तिशाली विस्फोट
काठमाडौँ – नेपाल बन्द सफल पार्न शक्तिशाली विस्फोट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई वटा मोर्चाले आह्वान गर्ने नेकपा बन्दको दिन विहान पोखरामा शक्तिशाली विस्फोट भएको हो ।
संसद बाट एमसीसी अनुमोदन भएसंगै ६ दल र दुई मोर्चाले एमसीसी विरुद्ध नेपाल बन्दको आह्वान गरेका हुन् । आइतबार संसदमा एमसीसी अनुमोदन भएसंगै बन्द बिरोधी गठबन्धनले सोमबार नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण देशभरको जनजीवन ठप्प छ । बन्दको दिन बिहानै पोखरामा शक्तिशाली बिस्फोट भएको छ ।
पोखरा महानगरपालिकाको लेखनाथमा बिहान ६ बजेर ५५ मिनेटतिर बिस्फोट जस्तो चर्को आवाज आएको स्थानीयले बताएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बन्दको असर काठमाडौँमा पनि परेको छ । बिहानी सेवाका स्कुल कलेज बन्द छन् । लामो दुरीका यातायात चलेका छैनन् ।
एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले आज नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बताए ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ ।’
विज्ञप्तिमा यस्तो राष्ट्रघातका विरुद्ध घोषणा गरिएको बन्द कार्यक्रमलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा अनुरोध गरिएको छ ।
‘यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल बन्दको घोषणासहित संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् । Lile Picture