को–को आउँदैछन् भोलीकोे विशाल जनसभालाई संबोधन गर्न ? यस्तो छ विप्लवको तयारी

बिहिबार, १९ फाल्गुन २०७८

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुईवटाले संयुक्त रुपमा भोली एमसीसी विरुद्ध विशाल जनसभाको आयोजना गरेका छन् । उक्त जनसभामा मोर्चाभन्दा बाहिरका एमसीसी विरोधी नेताहरुलाई पनि सहभागी गराइने भएको छ ।

त्यसका लागि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी विरोधी माहोल बनाउन दौडधूप थालेका छन् । उनले एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेर लबिङ थालेका हुन् ।

उनले बुधबारमात्रै नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन् ।

विप्लवले उनहरुकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । सो क्रममा विप्लवले एमसीसी विरोधीहरु ध्रुवीकृत हुनुपर्नेमा जोड दिएको बताइएको छ । साथै भोलीको जनसभालाई सम्बोधनका लागि आग्रह पनि गरेका छन् ।

उनीहरुले सहभागिताका लागि आफूहरुलाई गरेको निमन्त्रणाले उत्साहित भएको प्रतिक्रिया दिएका थिए । उक्त जनसभामा झलनाथ खना, नारायणकाजी श्रेष्ठ, भिम रावल, नारायणमान विजुक्ष, मोहन विक्रम सिंह, मोहन बैद्य लगायतका नेताहरुको सहभागिता हुनेछ ।

को को सहभागी हुने र कसले सम्बोधन गर्ने भन्ने विषयमा यसको पुरा विवरणसहितको जानकारी आज बेलुका गराइने नेकपा श्रोतले जानकारी दिएको छ । विप्लवसहितका केही कम्युनिस्ट घटकहरुले एमसीसी विरोधी अभियान चलाइरहेको बेला विप्लवले एमसीसीकै विरोधमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटपछि नेकपाका प्रवक्ता प्रकाण्डले देशभक्त, राष्ट्रवादी र स्वाधिनताका पक्षधरहरु एकीकृत र ध्रुवीकृत हुनुपर्नेमा जोड दिएका छन् । बुधबार नै विप्लवसहितका साना ६ दल र दुई मोर्चाले एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका थिए ।

साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएका छन् । २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पर्दशन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राष्ट्रिय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् ।